बुधबार, माघ २, २०८१ |Wed Jan, 2025
अक्ल्याण्डको समय: २२:१७ |सिड्नीको समय: २०:१७ |काठमाडौंको समय: १५:०२

परराष्ट्र सचिब लम्सालका यस्ता छन् प्रतिबद्धता

एएनजेड खबरडिसेम्बर १५, २०२३

काठमाडौँ । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा पद बहाली गरेपछि उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरिन । “मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु”, समूह भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन् । देशको परराष्ट्र नीतिअनुरूप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उनले बताइन् ।

फरक प्रसङ्गमा परराष्ट्र सचिवले आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताइन् । नेपालसँग श्रम सम्झौता नभएका देशमा गैर कानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन् ।

रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले सुझाव दिइन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसकेकी उनले त्यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रूपमा सेवा गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया